Logo

१० बैशाख, काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक समीकरण र प्रशासनिक फेरबदलका बीच प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे बस्ने गरी तय भएको यस बैठकलाई वर्तमान राजनीतिक घटनाक्रमका कारण निकै चासोका साथ हेरिएको छ । विशेषगरी गृहमन्त्री सुधन गुरुङको विवादित बहिर्गमन र रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारीका विषयमा बैठकमा छलफल हुने बुझिएको छ ।

बैठकमा प्रधानमन्त्रीले पछिल्लो समय चर्चामा रहेको अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउने अभियानका सन्दर्भमा सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल र आगामी योजनाबारे मन्त्रीहरूलाई ब्रिफिङ गर्ने कार्यसूची रहेको छ ।

भ्रष्टाचार मुद्दामा सांसदहरूलाई उन्मुक्ति दिने खालका कानुन र संसद्को आगामी अधिवेशन आह्वानका विषयमा पनि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको छ । मन्त्रालयगत नियमित एजेन्डाहरूका साथै समसामयिक राजनीतिक मुद्दा र शान्ति सुरक्षाको अवस्थाबारे बैठकमा गहन विमर्श हुने सरकारी स्रोतले जनाएको छ ।

सरकार गठनको छोटो अवधिमै दुई मन्त्रीको पद गएपछि उत्पन्न भएको परिस्थितिलाई सम्हाल्न र रिक्त मन्त्रालयहरूको कार्यसम्पादनलाई गति दिन प्रधानमन्त्री शाहले आजको बैठकमा विशेष निर्देशन दिने अपेक्षा गरिएको छ ।

साढे तीन बजेका लागि यसअघि नै चर्चा भए पनि प्रधानमन्त्रीले मध्याह्नमै बैठक डाकेर पछिल्ला प्रशासनिक चुनौतीहरूलाई चाँडो किनारा लगाउन खोज्नुभएको देखिन्छ । बैठकले केही महत्वपूर्ण नियुक्ति र प्रशासनिक निर्णयहरू समेत गर्न सक्ने सम्भावना रहेको छ ।


सम्बन्धित समाचार