१० बैशाख, काठमाडौं । नख्खीपोटस्थित किरात राई यायोक्खाको भवनमा बिहीबार बिहानैदेखि श्रम संस्कृति पार्टीको केन्द्रीय समितिको महत्त्वपूर्ण बैठक बसिरहेको छ ।
पार्टी अध्यक्ष हर्क साम्पाङले आह्वान गरेको यस बैठकमा बदलिँदो राजनीतिक समीकरण, सरकारका पछिल्ला गतिविधि र आगामी संसद् अधिवेशनका रणनीतिबारे सघन छलफल भइरहेको सचिवालयले जनाएको छ । राजनीतिक वृत्तमा यस बैठकलाई विशेषगरी पार्टी विस्तार र अन्य दलका प्रभावशाली नेताहरूलाई आफ्नो कित्तामा ल्याउने साम्पाङको रणनीतिक तयारीका रूपमा हेरिएको छ ।
बैठकको मुख्य आकर्षण र चर्चाको विषय भने पूर्वमन्त्री सुदन किरातीलाई पार्टीमा भित्र्याउने सम्भावित तयारी रहेको बुझिएको छ । बुधबार मात्रै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका किरातीलाई श्रम संस्कृति पार्टीको माथिल्लो तहमा जिम्मेवारी दिएर एकता प्रक्रिया अघि बढाउने विषयमा केन्द्रीय सदस्यहरूबीच मत माग्ने काम भइरहेको छ । साम्पाङ र किरातीबीचको सम्भावित सहकार्यले विशेषगरी पहिचानवादी र श्रमको राजनीति गर्ने शक्तिहरूबीच नयाँ ध्रुवीकरण हुन सक्ने विश्लेषण गरिएको छ ।
समसामयिक राजनीतिक एजेन्डाहरूका अतिरिक्त बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र अन्य साना दलहरूसँगको एकताका आधारहरूबारे पनि विस्तृत छलफल गरिरहेको छ ।
संसद्को आगामी अधिवेशनमा कसरी प्रस्तुत हुने र सरकारका कामकारबाहीमाथि जनस्तरबाट कस्तो दबाब सिर्जना गर्ने भन्ने विषयमा पनि कार्यदलस्तरको छलफल जारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । किरातीको प्रवेश र पार्टीको भावी कार्यदिशाबारे बैठकले आजै केही ठोस निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

















