१० वैशाख,वीरगञ्ज । गत चैत महिनाभर देशभर भएका विभिन्न विपद्का घटनामा ३० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आगलागी, हुरी, चट्याङ र हिमपातजस्ता विपद्का कारण १६ पुरुष, १० महिला र चार बालबालिकाले ज्यान गुमाएका हुन्।
यस अवधिमा २२२ जना घाइते भएका छन् भने १४३ जना विस्थापित भएका छन्। विपद्का कारण १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ। साथै ५२९ वटा चौपाया मरेका छन्।
प्रहरीले प्रारम्भिक मूल्यांकनअनुसार विपद्बाट करिब ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। उद्धार तथा प्रतिकार्यका लागि ४ हजार ८४१ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन्।
प्रदेशगत रूपमा कोशीमा २७२, मधेशमा १३६, बागमतीमा ८५, काठमाडौं उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिममा ९३ वटा विपद्का घटना दर्ता भएका छन्।
प्रहरीले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई अझ प्रभावकारी बनाउन आवश्यक सतर्कता अपनाइरहेको जनाएको छ।

















