Logo

१० बैशाख, काठमाडौं । विश्वविद्यालयहरूबाट विद्यार्थी संगठन र स्ववियुको संरचना हटाउने सरकारको पछिल्लो कदमले शैक्षिक क्षेत्रमा नयाँ तरंग पैदा गरेको छ ।

सरकारको यस निर्णयलाई ‘अधिनायकवादी’ कदमको संज्ञा दिँदै नेपाल ल क्याम्पसका विद्यार्थीहरूले बिहीबार राजधानीको प्रदर्शनीमार्गमा विशाल मार्च पाससहित विरोध प्रदर्शन गरेका छन् ।

नेपाल ल क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) तथा संयुक्त विद्यार्थी संगठनको ब्यानरमा भेला भएका कानुनका विद्यार्थीहरूले सरकारले विद्यार्थी आन्दोलनको विरासत र लोकतान्त्रिक हकलाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।

प्रदर्शनीमार्गबाट सुरु भएको उक्त विरोध मार्चमा सहभागीहरूले शैक्षिक संस्थामा राजनीतिक चेतना र संगठन गर्ने अधिकारलाई राज्यले नियन्त्रण गर्न नमिल्ने भन्दै चर्को नाराबाजी समेत गरेका थिए ।

आन्दोलित विद्यार्थीहरूले सरकारको यस निर्णयले विश्वविद्यालयमा विद्यार्थीहरूको आवाज उठाउने आधिकारिक संयन्त्र नै समाप्त हुने र यसले अन्ततः शैक्षिक निरंकुशतालाई प्रश्रय दिने दाबी गरेका छन् । ल क्याम्पसका विद्यार्थी नेताहरूका अनुसार, विश्वविद्यालय सुधारका नाममा विद्यार्थी संगठनको अस्तित्व मेटाउन खोज्नु प्रजातान्त्रिक मूल्य र मान्यता विपरीत छ ।

१० वैशाखमा आयोजित उक्त मार्च पासका क्रममा विद्यार्थीहरूले फरक शैलीमा आफ्ना मागहरू प्रस्तुत गरेका थिए । उनीहरूले सरकारले तत्काल आफ्नो निर्णय फिर्ता नलिए आन्दोलनलाई थप सशक्त बनाउने र देशभरका शैक्षिक संस्थाहरूमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनका कारण केही समय प्रदर्शनीमार्ग क्षेत्रको यातायात समेत प्रभावित भएको थियो ।


सम्बन्धित समाचार