Logo

१० वैशाख,काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न निर्वाचन प्रक्रिया सुरु गरेको छ। पार्टीले गठन गरेको सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वको समितिले निर्वाचन प्रक्रिया अघि बढाएको हो।

निर्वाचन कार्यतालिकाअनुसार आज मतदाता नामावली सार्वजनिक गरिएको छ। वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको सहमहामन्त्री रसाइलीले जानकारी दिएका छन्।

यद्यपि, कांग्रेसले दलको नेता सहमतिमै चयन गर्ने प्रयास पनि जारी राखेको छ। सहमति नजुटेमा मतदानपछि मतगणना गरी नतिजा घोषणा गरिने तयारी गरिएको छ।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन्। साथै मोहन आचार्यदेखि निश्कल राईसम्मको नाम पनि चर्चामा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्।

पार्टीभित्रको आन्तरिक मतभेदका कारण दलको नेता चयन प्रक्रिया ढिलाइ भएको बताइएको छ। सर्वोच्च अदालतको निर्णयपछि कार्यसमिति वैधानिक रूपमा मान्यता पाएसँगै निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

प्रमुख प्रतिपक्षी दल भएकाले संसदीय दलको नेता चयन संवैधानिक परिषद्सहितका महत्वपूर्ण संरचनामा प्रतिनिधित्वका दृष्टिले समेत निर्णायक मानिन्छ।


सम्बन्धित समाचार