Logo

१० वैशाख,काठमाडौं । टी–२० विश्वकपका क्रममा लागूऔषध प्रयोगको आरोपमा पाकिस्तानका क्रिकेटर मोहम्मद नवाजमाथि अनुसन्धान सुरु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई यसबारे जानकारी गराएको हो।

पीसीबीका प्रवक्ता आमिर मिरका अनुसार नवाजमाथि ‘रिक्रिएशनल ड्रग’ प्रयोगसम्बन्धी कानुनी प्रक्रिया सुरु भइसकेको छ। बोर्डले आफ्नो अनुसन्धान प्रतिवेदन आजै आईसीसीलाई बुझाउने तयारी गरेको जनाएको छ।

३२ वर्षीय नवाजले गएको मार्चमा सम्पन्न टी–२० विश्वकपमा पाकिस्तानका लागि सबै सात खेल खेलेका थिए। उनले प्रतियोगितामा सात विकेट लिँदै १५ रन बनाएका थिए। पाकिस्तान भने ‘सुपर–एट’ चरणबाट बाहिरिएको थियो।

यस विवादपछि नवाजले इङ्ग्ल्यान्डमा हुने टी–२० ब्लास्ट लिग खेल्ने अवसर गुमाएका छन्। उनलाई काउन्टी क्लब सर्रेले यस सिजनका लागि अनुबन्ध गरेको थियो।

हाल उनी पाकिस्तान सुपर लिग (पीएसएल) मा मुल्तान सुल्तान्सबाट खेलिरहेका छन्।


सम्बन्धित समाचार