१० वैशाख भरतपुर । माडी नगरपालिकामा नव नियुक्त कर्मचारीहरूको सपथ ग्रहण, स्वागत तथा ‘फेरि भेटौँला’ कार्यक्रम बिहीबार गरिमामय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममार्फत नव नियुक्त कर्मचारीहरूलाई जिम्मेवारी हस्तान्तरण गर्दै जनसेवाप्रति अझ प्रतिबद्ध रहन प्रेरित गरिएको छ।
कार्यक्रममा लेखापाल (पाँचौँ) पदमा दमन बहादुर चन्द तथा प्रशासन सहायक (पाँचौँ) पदमा कृष्ण प्रसाद खनाल, प्रतिभा वि.क., जमुना चौहान, पवित्रा आचार्य, हरिना कुमारी पाण्डेय र लिला राना लाई स्थायी नियुक्तिसहित स्वागत गरिएको थियो। उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल ले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो।
त्यसैगरी वडा नं. ७ मा वडा सचिव पदमा कार्यरत शान्ति देवी भण्डारी क्षेत्री लाई ‘फेरि भेटौँला’ कार्यक्रममार्फत सम्मानपूर्वक विदाई गरिएको थियो। कार्यक्रममा उहाँले नगरपालिकामा रहँदा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुखले नव नियुक्त कर्मचारीहरूलाई जनताको विश्वास जित्ने गरी इमान्दार, पारदर्शी र जिम्मेवार ढंगले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। उहाँले सरकारी सेवा जनताको प्रत्यक्ष सरोकारसँग जोडिएको संवेदनशील जिम्मेवारी भएको उल्लेख गर्दै सेवाग्राहीमैत्री कार्यशैली अपनाउन जोड दिनुभयो। “समृद्ध माडीको आधार — उत्तरदायी र सक्षम कर्मचारी” भन्ने सोचलाई व्यवहारमा उतार्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल ले कर्मचारीहरूलाई अनुशासन, पारदर्शिता र परिणाममुखी कार्यसम्पादनमा केन्द्रित हुन आग्रह गर्दै नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबैको सक्रिय भूमिकाको आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रमले नव नियुक्त कर्मचारीहरूमा उत्साह र जिम्मेवारीबोध थप्नुका साथै सेवाबाट विदा हुने कर्मचारीप्रति सम्मान प्रकट गर्दै सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

















