Logo

१२ वैशाख,काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईमाथि ३७ रनको महत्वपूर्ण जित दर्ता गरेको छ। घरेलु मैदानमा भएको खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमै अलआउट भयो।

यूएईका हर्प्रित सिंहले ३९ र मोहम्मद वसिमले ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका करण केसीले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ विकेट लिएर जितमा महत्वपूर्ण भूमिका खेले।

यो जितसँगै नेपालले २१ खेलबाट १४ अंक जोडेको छ। तालिकामा यूएई भने २१ खेलमा १० अंकसहित पुछारमा रहेको छ।

तालिकामा ओमान २४ खेलबाट २९ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा रहेको छ।

नेपालले अब आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। लिग–टू अन्तर्गत शीर्ष–६ मा स्थान सुरक्षित गर्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यका साथ नेपाल, यूएई र ओमानबीच प्रतिस्पर्धा जारी छ। यस शृङ्खलामा यी तीन टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन्।

त्यसपछि नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित अर्को शृङ्खलामा पनि प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित समाचार