Logo

१४ वैशाख,काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको कीर्तिपुरस्थित क्रिकेट रंगशाला खाली गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई ३५ दिनको अल्टिमेटम दिएको छ ।

त्रिविले क्यानसँगको सम्झौता आगामी वैशाख अन्त्यमा सकिने भन्दै नवीकरण नगर्ने निर्णयसहित जग्गा खाली गर्न पत्राचार गरेको हो । त्रिवि सामान्य प्रशासन महाशाखाका प्रमुख राजबहादुर राईका अनुसार विश्वविद्यालयको जग्गा प्रयोग गरिरहेका १८ वटा संघ–संस्था र संगठनलाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ, जसमा क्रिकेट रंगशाला पनि समावेश छ ।

‘त्रिविको जग्गा प्रयोग गरेका सबै निकायलाई छुट्टाछुट्टै पत्र पठाइएको छ । क्यानसँगको सम्झौता पनि अब नवीकरण हुँदैन,’ राईले भने ।

त्रिविले गत वैशाख ४ गते नै आफ्ना अतिक्रमित जग्गा फिर्ता ल्याउने भन्दै ३५ दिनको सूचना जारी गरेको थियो । सोही प्रक्रियाअन्तर्गत अहिले विभिन्न संस्थालाई खाली गर्न निर्देशन दिइएको हो ।

जग्गा खोजबिन समितिको प्रतिवेदन अनुसार त्रिविको ठूलो मात्रामा जग्गा अनधिकृत रूपमा विभिन्न संघ–संस्थाले प्रयोग गर्दै आएका छन् । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक गरेको प्रतिवेदनले विश्वविद्यालयका पदाधिकारी र कर्मचारीकै मिलेमतोमा २ हजारभन्दा बढी रोपनी जग्गा कब्जा भएको देखाएको थियो ।

प्रतिवेदनमा कीर्तिपुरस्थित करिब १,५०० रोपनी जग्गा विभिन्न संस्थाको भोगचलनमा रहेको तथा करिब ८४३ रोपनीभन्दा बढी जग्गा सरकारी र गैरसरकारी निकायले प्रयोग गरिरहेको उल्लेख छ ।

त्रिविको जग्गा अपचलनलाई ‘शैक्षिक माफियाको दादागिरी’ को परिणामका रूपमा प्रतिवेदनले व्याख्या गर्दै विश्वविद्यालयको ऐन र कानुन विपरीत अनधिकृत कब्जा भइरहेको निष्कर्ष निकालेको छ ।


सम्बन्धित समाचार