१८ वैशाख,काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा नेपालले आफ्नो तेस्रो खेलमा यूएईविरुद्ध टस जित्दै ब्याटिङ रोजेको छ। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले यस शृंखलाको सुरुवाती खेलमा यूएईलाई पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको थियो। तर दोस्रो खेलमा ओमानसँग कमजोर प्रदर्शन गर्दै हार व्यहोर्नुपरेको थियो, जसले टोलीको लयमा केही असर पारेको देखिन्छ।
यता, यूएईले भने पहिलो खेलमा नेपालसँग हार बेहोरेपछि दोस्रो खेलमा ओमानलाई हराउँदै आत्मविश्वास फर्काएको छ। त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण बनेको छ, जहाँ नेपाल पुनः जितको लय समात्न चाहन्छ भने यूएई अघिल्लो हारको बदला लिने लक्ष्यमा मैदान उत्रिएको छ।
खेलमा नेपालको ब्याटिङ प्रदर्शन कस्तो रहनेछ भन्नेमा समर्थकहरूको चासो केन्द्रित छ, विशेषगरी शीर्ष क्रमका ब्याट्सम्यानहरूले जिम्मेवारीपूर्ण खेल देखाउनुपर्ने दबाब रहेको छ। साथै बलिङतर्फ पनि नेपालले सशक्त पुनरागमन गर्ने अपेक्षा गरिएको छ।




















