Logo

२६ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि चौथो वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ।

ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासस्थित खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको सहयोग तथा वडा नम्बर १० को वडा कार्यालयको आयोजनामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशीलकुमार कानु ले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद कानुले वडाध्यक्ष निर्वाचित भएको पहिलो वर्षदेखि सुरु गरिएको क्रिकेट प्रतियोगिता लगातार चार वर्षसम्म निरन्तर सञ्चालन हुनुलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरे। उनले युवालाई खेलकुदप्रति आकर्षित गर्न वडा समितिले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे।

उनले खेलकुदले युवालाई गलत बाटोमा लाग्नबाट जोगाउनुका साथै राष्ट्रका लागि सक्षम खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

उद्घाटन समारोहमा आयोजित मार्चपास प्रतियोगितामा लिटिल एन्जल्स इंग्लिश बोर्डिङ स्कुल प्रथम, माउण्ट मकालु इंग्लिश बोर्डिङ स्कुल द्वितीय तथा रामचरण साह पन्नालाल माध्यमिक विद्यालय तृतीय भएका थिए। मार्चपासमा सात वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।

शनिबारदेखि सुरु भएको प्रतियोगितामा वडा नम्बर १० का आठ वटा टिम सहभागी रहेका छन्। प्रतियोगिताको फाइनल खेल जेठ २ गते हुने तय गरिएको छ।

कार्यवाहक वडाध्यक्ष सन्तोष जैशी चौलागाईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उद्योगपति अशोक बैद्य, वडा सदस्य प्रभु महतो, प्रेमशीला देवी, मिश्रादेवी नगरकोटी, वडा सचिव पवन प्रधान, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह, पूर्व अध्यक्ष दिलिप साहकानु, घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु तथा प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार