Logo

३० वैशाख,काठमाडौं ।  अर्जेन्टिनी स्टार लियोनल मेसी फेरि पनि मेजर लिग सकर (एमएलएस) का सबैभन्दा धेरै पारिश्रमिक लिने खेलाडी बनेका छन्।

एमएलएस प्लेयर्स एसोसिएसनले सार्वजनिक गरेको विवरणअनुसार लियोनल मेसी को वार्षिक आधारभूत तलब २ करोड ५० लाख अमेरिकी डलर (करिब १८.५ मिलियन पाउन्ड) पुगेको छ। यो रकम लिगका दोस्रो सर्वाधिक कमाउने खेलाडीको तुलनामा दोब्बरभन्दा बढी हो।

३९ वर्ष पुग्न लागेका मेसीले गत अक्टोबरमा इन्टर मियामी सीएफ सँग सम्झौता नवीकरण गरेका थिए। नयाँ सम्झौतासँगै उनको आधारभूत तलब दोब्बर भएको हो भने कुल ग्यारेन्टी पारिश्रमिक २ करोड ८३ लाख डलर (करिब २०.९ मिलियन पाउन्ड) पुगेको छ।

दोस्रो स्थानमा सन ह्युङ–मिन रहेका छन्, जसले लस एन्जलस एफसी बाट खेल्दै वार्षिक १ करोड ४ लाख डलर आधारभूत तलब र १ करोड १२ लाख डलर कुल ग्यारेन्टी आम्दानी प्राप्त गरिरहेका छन्।

मेसीको आम्दानीमा विज्ञापन, ब्रान्ड सम्झौता तथा इन्टर मियामीमा सम्भावित हिस्सेदारीबाट हुने थप आम्दानी समावेश गरिएको छैन। क्लबका सह–मालिक पूर्व फुटबलर डेभिड बेकह्याम हुन्।

मेसी सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका थिए। त्यसयता उनले लिगमा ६४ खेलमा ५९ गोल गरेका छन्। २०२५ मा क्लबलाई एमएलएस कप जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। पछिल्ला दुई सिजन (२०२४ र २०२५) मा उनी लगातार ‘मोस्ट भ्यालुएबल प्लेयर’ पनि घोषित भएका छन्।


सम्बन्धित समाचार