Logo

२ जेठ,काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोलीलाई ९ विकेटले पराजित गरेको छ।

त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा आज भएको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कुशल भुर्तेलले शानदार शतक प्रहार गर्दै १ सय १९ रन बनाए। यस्तै आसिफ शेखले ५८ रनको योगदान दिए। आजकै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका ईशान पाण्डे २० रनमा अविजित रहे।

यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। अमेरिकाका समित पटेलले ८३ तथा शेहान जयसूर्यले ५० रन बनाए। नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।

नेपालमा जारी लिग–टू त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली सहभागी छन्। अंकतालिकामा नेपाल २६ खेलबाट २० अंकसहित सातौं स्थानमा रहेको छ भने अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा छ। लगातार दुई जित निकालेको स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ।

यसअघि कीर्तिपुरमा भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान २ रनले पराजित गरेको थियो। नेपालले अब आफ्नो तेस्रो खेलमा पर्सि स्कटल्यान्डसँग तथा चौथो खेलमा जेठ ८ गते अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित समाचार