Logo

८ जेठ,काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा भइरहेको शृङ्खलाको अन्तिम खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा संयुक्त राज्य अमेरिका (USA) विरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले आफ्ना दुवै ओपनर गुमाएको छ ।

नेपालका इनिङ्स सम्हाल्न खोजिरहेका ओपनर आसिफ शेख ५७ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाएर आउट भएका छन् । उनलाई अमेरिकी बलर शुभम रञ्जनेले आउट गराएका हुन् ।

यसअघि नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । कुशल ३९ बलमा ५ चौकाको मद्दतले २९ रन बनाउँदै रुशिल उगाकरको बलमा क्याच आउट हुन पुगेका थिए । दुवै ओपनरले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

ताजा स्थिति अनुसार क्रिजमा इशान पाण्डे र कप्तान रोहित पौडेल खेलिरहेका छन् । १९ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर ८४ रन बनाएको छ ।

घरेलु मैदानमा जारी यस त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेललाई सुखद् अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रिएको नेपाल अहिले बलियो योगफलतर्फ अघि बढ्ने प्रयासमा छ ।


सम्बन्धित समाचार