Logo

८ जेठ,काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३१७ रन बनायो। यो कीर्तिपुर मैदानमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सर्वाधिक स्कोर हो। यसअघि सन् २०२३ मा ओमानविरुद्ध नेपालले ३१० रन बनाएको थियो।

नेपालका लागि ईशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ खेले। त्यस्तै दीपेन्द्र सिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६ रन र आसिफ शेखले ४३ रनको योगदान दिए।

अमेरिकाका बलर शुभम् रन्जनेले ३ विकेट लिए। यसै शृङ्खलाबाट डेब्यु गरेका ईशान पाण्डेले लगातार दोस्रो अर्धशतक प्रहार गर्दै आफ्नो प्रभावशाली सुरुवातलाई निरन्तरता दिएका छन्।

लिग–टु शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डसँग डकवर्थ–लुइस नियमअनुसार २ रनले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले र तेस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो।

तालिकामा नेपाल २७ खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा छ भने अमेरिका २७ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ। स्कटल्यान्ड ३२ खेलमा ३८ अंकसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ।


सम्बन्धित समाचार