Logo

८ जेठ,काठमाडौं ।  नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तरराष्ट्रिय टी–ट्वान्टी खेलमा मलेसियामाथि सहज जित निकालेको छ। मलेसियाको बायुमास ओभलमा शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८२ रन बनायो। मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रन बनाइन् भने धनुश्री मुहुनानले १५ रन र अरिनान नातास्याले १३ रनको योगदान दिए। अन्य खेलाडी भने दोहोरो अंकमा पुग्न सकेनन्।

८३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ३९ रनको महत्वपूर्ण पारी खेलिन्। त्यस्तै कविता कुँवरले १९ रन र सोनी पाखरिनले १२ रन बनाए।

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिए भने पूजा महतो र सीता रानामगरले १–१ विकेट हात पारे।

यस जितसँगै नेपालले सिरिजमा बलियो सुरुवात गर्दै आत्मविश्वास बढाएको छ।


सम्बन्धित समाचार