Logo

१० जेठ, वीरगञ्ज । देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा आयात व्यापारमा उल्लेख्य वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको ताजा तथ्याङ्क अनुसार समीक्षा अवधिमा यस नाकाबाट कुल ७ खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरको वैदेशिक वस्तु तथा सामान आयात भएको छ ।

यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत अर्थात् १ खर्ब २ अर्ब ४४ करोड रुपैयाँले बढी हो, जबकि गत आवको पहिलो १० महिनामा ६ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ मूल्यका वस्तुहरू भित्रिएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा विशेष गरी पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य कच्चा पदार्थको आयातमा उच्च बढोत्तरी भएकाले समग्र आयातको ग्राफ उकालो लागेको हो ।

१० महिनाको आयात शृङ्खलालाई केलाउँदा सबैभन्दा ठूलो हिस्सा इन्धन र औद्योगिक कच्चा पदार्थले ओगटेको देखिन्छ । यस अवधिमा कुल १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न पाँच थरिका पेट्रोलियम पदार्थ नेपाल भित्रिएका छन्, जसले नेपालको उच्च इन्धन निर्भरतालाई पुनः पुष्टि गर्दछ । इन्धनपछि दोस्रो ठूलो आयात हुने वस्तुमा फलाम तथा फलामबाट बनेका सामानहरू रहेका छन्, जसको आयात ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरको छ ।

यसैगरी, औद्योगिक तथा विकास निर्माणका क्षेत्रमा प्रयोग हुने ५७ अर्ब ६६ करोड रुपैयाँ मूल्यका विभिन्न मेसिनरी तथा पार्टपुर्जाहरू आयात भएका छन् भने स्वदेशी उद्योगहरूका लागि आवश्यक पर्ने ५५ अर्ब ७ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल (क्रुड सोयाबिन ओइल) समेत यसै नाका हुँदै भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

मुख्य औद्योगिक कच्चा पदार्थ र इन्धनको आयातमा आएको यो सुधारले आन्तरिक बजारको आर्थिक गतिविधि र उत्पादन क्षेत्र विस्तारै चलायमान हुन थालेको सङ्केत गरेको छ ।


सम्बन्धित समाचार