१० जेठ,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग, सार्वजनिक कोष अपचलनलगायत गम्भीर आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पाँच दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ।
राखेपले क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्दविरुद्ध परेका उजुरीका विषयमा राय, प्रतिक्रिया तथा प्रमाणित कागजातसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा २०८३ वैशाख १६ गते अध्यक्ष चन्दविरुद्ध उजुरी दर्ता भएको थियो। आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालय लाई पत्र पठाएपछि मन्त्रालयले वैशाख ३१ गते राखेपलाई १० दिनभित्र जवाफ दिन निर्देशन दिएको थियो।
मन्त्रालयको पत्रमा क्यान नेतृत्वले सार्वजनिक कोषको दुरुपयोग गरेको, अमेरिका भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियामा हस्तक्षेप गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको तथा साधारण सभा, जर्सी र टिकट व्यवस्थापनमा अनियमितता भएको जस्ता आरोप उल्लेख गरिएको छ।
त्यसपछि राखेपले क्यानलाई पुनः पत्राचार गर्दै उजुरीमा उठाइएका सबै विषयमा बुँदागत रूपमा सत्यतथ्य विवरण र प्रमाणित कागजात उपलब्ध गराउन आग्रह गरेको छ।
राखेपले पठाएको पत्रमा उजुरीको गाम्भीर्यतालाई ध्यानमा राख्दै विस्तृत छानबिनका लागि आवश्यक सबै विवरण पछि फरक नपर्ने गरी पेश गर्न भनिएको छ।




















