Logo

१७ जेठ, माडी । माडीको बसन्तपुरमा हिजोदेखि विद्यालयस्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति माडीको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले गरेकी थिइन् ।

उद्घाटन खेलमा जनजीवन माध्यमिक विद्यालय, खरकट्टा र दिवाकर स्मृति माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जनजीवन माध्यमिक विद्यालयले ४–२ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।

त्यसैगरी दोस्रो खेलमा पिसल्याण्ड इङ्गलिस स्कुल र विद्याज्योति इङ्गलिस स्कुल, बरुवाबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । निकै रोमाञ्चक बनेको सुटआउटमा विद्याज्योति इङ्गलिस स्कुल ९–८ गोलअन्तरले विजयी भएको थियो ।

विद्यालयस्तरमा खेलकुद संस्कृतिको विकास, प्रतिभाको पहिचान तथा विद्यार्थीहरूमा अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले माडीका विद्यार्थीमाझ उत्साह थपेको छ । उद्घाटन दिन नै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू देखिएपछि आगामी खेलप्रति दर्शक र खेलप्रेमीहरूको चासो बढेको छ ।


सम्बन्धित समाचार