Logo

५ असार,काठमाडौं । इरानको एक अदालतले गायिका परस्तु अहमदी र ‘कारवांसेराई कन्सर्ट’मा सहभागी अन्य आठ कलाकारलाई ७४ कोर्रा लगाउने सजाय सुनाएको छ। साथै उनीहरूलाई दुई वर्षसम्म देश छोड्न र कला तथा सांस्कृतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ।

कोम प्रान्तको अदालतले इस्लामिक कानुनी प्रावधानअन्तर्गत उक्त फैसला सुनाएको हो। अदालतले सजाय पाएका सबै नौ जनालाई समान दण्ड तोकेको छ। साथै अदालतको निर्णय राष्ट्रिय सञ्चारमाध्यममार्फत सार्वजनिक गरिने जनाइएको छ।

अदालतले उनीहरूलाई “इन्टरनेटमा अश्लील सामग्री प्रकाशन गरी सार्वजनिक नैतिकता र सामाजिक मर्यादामा आघात पुर्‍याएको” आरोपमा दोषी ठहर गरेको हो।

विवादित ‘कारवांसेराई कन्सर्ट’को भिडियो गायिका परस्तु अहमदीको युट्युब च्यानलमार्फत डिसेम्बर २०२४ मा सार्वजनिक गरिएको थियो। भिडियोमा अहमदीले अनिवार्य हिजाब नलगाई प्रस्तुति दिएको देखिएपछि यसले सामाजिक सञ्जालमा व्यापक चर्चा र बहस निम्त्याएको थियो।

भिडियो सार्वजनिक भएको केही घण्टामै एक लाखभन्दा बढी पटक हेरिएको थियो। त्यसपछि विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको उक्त भिडियो हालसम्म करिब ३० लाख पटक हेरिएको छ। भिडियोका विभिन्न अंशहरू पनि अनलाइनमा भाइरल बनेका छन्।

मानवअधिकारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले कलाकारमाथि गरिएको कारबाहीप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले यसलाई सांस्कृतिक तथा व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।


सम्बन्धित समाचार