५ असार,काठमाडौं । इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका–इरानबीच युद्ध रोक्ने सम्झौता भएपछि पनि इजरायलले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने अडान दोहोर्याएको हो।
उत्तरी इजरायलमा रहेको ‘रुट ६०’ को पुनः उद्घाटन समारोहलाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उत्तर क्षेत्रमा सुरक्षा व्यवस्था पूर्ण रूपमा पुनःस्थापित नगरेसम्म इजरायल पछि नहट्ने बताएका छन्। उनले दक्षिणी लेबनानमा सुरक्षा क्षेत्र कायम राख्नु आवश्यक रहेको उल्लेख गर्दै त्यहाँबाट सेना फिर्ता नबोलाइने स्पष्ट पारे।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थितिको नयाँ नक्सा सार्वजनिक गर्दै तत्काल सैनिक फिर्ता गर्ने कुनै योजना नरहेको जनाएको छ। सेनाले सम्भावित सुरक्षा खतराहरूलाई निष्क्रिय पार्ने अभियान निरन्तर जारी रहने बताएको छ।
इजरायलले लेबनानको सरकारी सेनालाई समेत चेतावनी दिँदै सुरक्षा क्षेत्र आसपास सञ्चालन गरिने कुनै पनि गतिविधि आफ्नो सेनासँग समन्वय गरेर मात्र गर्न आग्रह गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वबीच भएको शान्ति सम्झौतामा लेबनानसहित विभिन्न मोर्चाहरूमा जारी द्वन्द्व अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। सम्झौताअनुसार दुवै पक्ष तथा उनीहरू समर्थित समूहहरूले एकअर्काविरुद्ध प्रत्यक्ष सैन्य कारबाही रोक्ने सहमति गरेका थिए।
तर इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने निर्णय गरेपछि उक्त शान्ति सम्झौताको प्रभावकारिता तथा दीर्घकालीन सफलतामाथि नयाँ प्रश्नहरू उठ्न थालेका छन्। क्षेत्रीय स्थायित्व र सुरक्षा अवस्थामाथि यस निर्णयले थप प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
















