Logo

५ असार, काठमाडौं । पछिल्लो समय सेयर बजारमा देखिएको लगातारको गिरावट र उतारचढावबारे अर्थमन्त्रीले स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छ ।

प्रतिनिधिसभामा आर्थिक ऐन, २०८१ माथि भएको छलफलमा भाग लिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले हाल बजारमा देखिएको मन्दीका पछाडि मुख्यतया मनोवैज्ञानिक त्रास र कानुनी कारबाहीको प्रक्रिया कारक रहेको बताउनुभएको छ । पुँजी बजार र बिमा क्षेत्रमा केन्द्रित रहेर अघि बढाइएको १ खर्ब रुपैयाँभन्दा बढीको बिगो दाबीसहितको कानुनी कारबाहीले लगानीकर्तामा ‘म पनि कारबाहीमा पर्ने त होइनरु’ भन्ने त्रास पैदा गर्दा त्यसको प्रत्यक्ष असर बजारको सूचकमा परेको उहाँको दाबी छ ।

ठूला अनियमितताका घटनामाथि सरकारले थालेको अनुसन्धानले बजारमा केही समयका लागि अन्यौलता र अविश्वासको वातावरण सिर्जना गरेको मन्त्रीले स्वीकार गर्नुभयो ।

यद्यपि, सरकार दैनिक बजारको उतारचढावभन्दा पनि पुँजी बजारको दीर्घकालीन स्वास्थ्य र स्थायित्वमा केन्द्रित रहेको उहाँको भनाइ छ । बजारलाई पारदर्शी, मर्यादित र विश्वसनीय बनाउन सरकारले नीतिगत सुधारका कार्यहरूलाई प्राथमिकतामा राखेको जनाउँदै उहाँले लगानीकर्तालाई हल्लाको पछि नलाग्न र धैर्यता अपनाउन आग्रह गर्नुभयो ।

अहिलेको बजारको सुस्त अवस्था अस्थायी रहेको र सरकार पुँजी बजारको विकासका लागि प्रतिबद्ध रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो । पुँजी बजार र बिमा क्षेत्रमा देखिएको विचलनलाई सरकारले सूक्ष्म रूपमा अनुगमन गरिरहेको जानकारी दिँदै उहाँले कानुनी दायराभित्र रहेर बजारको विकासमा लाग्न सम्बद्ध सबै पक्षलाई सचेत गराउनुभएको छ । सरकारको जोड बजारलाई नियन्त्रण गर्ने नभई यसको जगलाई थप बलियो बनाउने तर्फ रहेको उहाँको जिकिर छ ।


सम्बन्धित समाचार