५ असार,काठमाडौं । सरकारले समयमा नै खरिद प्रक्रिया अगाडि नबढाउँदा देशभर एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव देखिएको छ। कुकुर तथा अन्य जनावरको टोकाइबाट लाग्ने प्राणघातक रोग रेबिजविरुद्ध प्रयोग हुने यो खोप अहिले देशभर सर्टेज अवस्थामा पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा खोपको स्टक घट्दै गएर आपूर्ति संकट सिर्जना भएको हो। हाल टेकुस्थित केन्द्रीय भण्डारणमा समेत न्यून मात्रामा मात्र खोप बाँकी रहेको बताइएको छ।
खोप तथा स्वास्थ्य सामग्री खरिद गर्ने व्यवस्थापन महाशाखाका प्रमुख केशवराज पण्डितका अनुसार खरिद प्रक्रिया तीव्र रूपमा अघि बढाइए पनि खोप आइपुग्न अझै करिब एक महिना लाग्नेछ।
“एआरभी खोपको खरिद प्रक्रिया अघि बढिसकेको छ, तर आपूर्ति हुन अझै केही समय लाग्न सक्छ,” उनले भने, “छिटो ल्याउन हामी निरन्तर काम गरिरहेका छौँ।”
खोप अभावका कारण उपत्यका बाहिरका अस्पतालहरूमा सेवा प्रभावित भएको छ। यसबीच, धेरै बिरामीहरू टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाउन पुग्न थालेका छन्, जसका कारण त्यहाँ भीड बढेको छ।
चालु आर्थिक वर्षमा समयमै खरिद प्रक्रिया अघि नबढ्दा आपूर्ति अवरुद्ध भएको सरोकारवालाहरूको भनाइ छ। विभागले अब आपूर्ति सहज बनाउन प्रक्रिया छिटो अघि बढाउने, विश्व स्वास्थ्य संगठनसँग समन्वय गर्ने तथा अन्य साझेदार संस्थासँग सहयोग माग्ने जनाएको छ।
महाशाखाका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ३ लाख मानिस कुकुरलगायत जनावरको टोकाइबाट प्रभावित हुने अनुमान छ। रेबिजका कारण वार्षिक करिब १०० जनासम्मको मृत्यु हुने गरेको तथ्यांक छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वार्षिक करिब ६० हजार मानिस रेबिजका कारण मृत्यु हुने गरेका छन् भने एशिया क्षेत्रमा मात्र ३५ हजारभन्दा बढीको ज्यान जाने गरेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार जनावरले टोकेको ४८ देखि ७२ घण्टाभित्र एन्टी रेबिज भ्याक्सिन लगाउनुपर्ने हुन्छ। समयमै तीन डोज खोप लगाउन सके रेबिज रोकथाम गर्न सकिने भए पनि ढिलाइ भएमा यो रोग प्राणघातक हुने चेतावनी दिइएको छ।
सरकारले उपलब्ध गराउँदै आएको एन्टी रेबिज भ्याक्सिन निःशुल्क भए पनि आपूर्ति व्यवस्थापनमा कमजोरी देखिँदा सेवाग्राही प्रभावित भएका छन्।
















