५ असार, काठमाडौं । विभिन्न मुलुकका लागि रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले आवेदन दिएका तीन हजार उम्मेदवारमध्ये २७ सय जनालाई प्रारम्भिक छनोटमा राखेको छ ।
गत जेठ १४ गते मन्त्रालयले १३ जना राजदूतका लागि दरखास्त आह्वान गरेकोमा म्याद सकिँदासम्म तीन हजारभन्दा बढी आवेदन परेका थिए । दोहोरो आवेदन, नाम तथा कागजातमा देखिएका त्रुटि र बायोडाटा नभएका आवेदनहरूलाई हटाएर हाल २७ सयको संख्यामा सूची तयार पारिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
मन्त्रालयले अब उमेर, योग्यता र तोकिएको मापदण्डका आधारमा थप ‘सर्ट लिस्टिङ’ गर्ने कामलाई तीव्रता दिएको छ । छनोटमा परेका उम्मेदवारहरूलाई अन्तर्वार्ता वा प्रस्तुतीकरण (प्रेजेन्टेसन) का लागि बोलाइने छ, यद्यपि अन्तिम छनोटको विधिबारे सरकारले अझै औपचारिक टुङ्गो लगाउन बाँकी रहेको बताइएको छ ।
मापदण्डमा आधारित रहेर उम्मेदवारको योग्यता, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धमा गरेको योगदानको मूल्याङ्कनका आधारमा सरकारले राजदूतको सिफारिस गर्नेछ ।
हाल १७ जना राजदूत फिर्ता बोलाइएको र आगामी भदौसम्म थप सात जनाको म्याद सकिने भएकाले २१ वटा दूतावासमा राजदूत पद रिक्त हुने अवस्था छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको व्यवस्था अनुसार कुल राजदूत पदमध्ये ५० प्रतिशत परराष्ट्र सेवाका अनुभवी कूटनीतिज्ञहरूबाट र बाँकी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने प्रावधान छ ।
२१ स्थानमा कसरी पदपूर्ति गर्ने भन्नेबारे केही अन्योल देखिए पनि मन्त्रालयले अहिले आवेदन परेकामध्येबाट र आवश्यक परे कूटनीतिज्ञहरूबाट समेत छनोट गरी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
















