५ असार,काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथि लगाइएको सङ्गठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सुमन खनाललगायतको जाहेरीका आधारमा दर्ता भएको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधन गर्न अदालतसमक्ष निवेदन दिएको थियो।
अदालतले सरकारी वकिल कार्यालयको उक्त निवेदन स्वीकार गर्दै सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको हो। यससँगै लामिछानेविरुद्धको सङ्गठित अपराधको मुद्दा हटेको छ।
यद्यपि, अदालतले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् राखेको छ। यस कारण लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा कानुनी प्रक्रिया भने निरन्तर अगाडि बढ्नेछ।
सरकारी वकिल कार्यालयको अभियोगपत्र संशोधन निवेदनपछि अदालतले गरेको यो आदेशलाई उक्त मुद्दाको महत्वपूर्ण कानुनी विकासका रूपमा हेरिएको छ।
















