Logo

३ साउन, काठमाडौँ । बुकायो साकाको उत्कृष्ट ह्याट्रिक र खेलको अन्तिम सेकेन्डमा जुड बेलिङ्घमले गरेको सनसनीपूर्ण गोलको मद्दतले इङ्गल्याण्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ ।

मियामी स्टेडियममा आज बिहान सम्पन्न इतिहासकै एक रोमाञ्चक तथा १० गोल भएको ‘थ्रिलर’ खेलमा इङ्गल्याण्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गर्दै कास्य पदक जितेको हो ।

सन् १९६६ मा आफ्नै भुमिमा विश्वकप जितेयता विश्वमञ्चमा इङ्गल्याण्डको यो नै उत्कृष्ट नतिजा हो। यस हारसँगै फ्रान्सेली टोलीका सफल प्रशिक्षक डिडिएर डेसक्याम्पसको सुखद बिदाइ हुने सपनामा समेत पूर्णविराम लागेको छ।

खेलको पहिलो हाफ पूर्ण रूपमा इङ्गल्याण्डको पक्षमा रह्यो । प्रशिक्षक थोमस टुचेलको रणनीति अनुसार मैदान उत्रिएको इङ्गल्याण्डले खेलको तेस्रो मिनेटमै अग्रता लियो। मिडफिल्डर Declan राइसले डि–बक्स बाहिरबाट प्रहार गरेको उत्कृष्ट सट सिधै गोलमा परिणत भएको थियो। राइसले खेल सुरु भएको १३४ सेकेन्डमै गरेको उक्त गोल इङ्गल्याण्डका लागि विश्वकप इतिहासकै दोस्रो तीव्र गोल बन्यो ।

त्यसपछि आक्रामक बनेको इङ्गल्याण्डका लागि १८ औं मिनेटमा एज्री कोन्साले गोल गर्दै अग्रता दोब्बर बनाए । स्टार फरवार्ड बुकायो साकाले ३७ औं मिनेट र पहिलो हाफको इन्जुरी समय (४५+१) मा लगातार दुई गोल गरेपछि इङ्गल्याण्ड मध्यान्तरअघि ४–० को विशाल स्थितिमा पुग्यो ।

चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा अनपेक्षित रूपमा खेलमा फर्कने प्रयास गर्‍यो। कप्तान किलियन एम्बाप्पेले ४८ औं मिनेटमा टोलीका लागि पहिलो गोल गरे। त्यसको ६ मिनेट लगतै ५४ औं मिनेटमा एम्बाप्पेकै पासमा युवा खेलाडी ब्रैडली बारकोलाले गोल गरेपछि खेल ४–२ को स्थितिमा आयो।

फ्रान्स यतिमै रोकिएन, ६६ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को स्थितिमा पुर्‍याएर इङ्गल्याण्डको खेमामा भुइँचालो नै ल्याइदिए। फ्रान्सले लगातार गोलका अवसरहरू सिर्जना गर्दा इङ्गल्याण्ड चरम दबाबमा देखिएको थियो।

खेल सकिन ३ मिनेट बाँकी छँदा इङ्गल्याण्डले राहत पायो। फ्रान्सका मालो गुस्टोले डिजेड स्पेन्सलाई लडाएपछि पाएको पेनाल्टीलाई बुकायो साकाले ८७ औं मिनेटमा गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई ५–३ को अग्रता दिलाए। तर, खेलको रोमाञ्चकता अझै बाँकी नै थियो। इन्जुरी समयको ९०+६ औं मिनेटमा फ्रान्सका ओसमाने डेम्बेलेले गोल गरेपछि खेल फेरि ५–४ को रोमाञ्चक मोडमा पुग्यो।

फ्रान्सले बराबरीका लागि हरप्रयास गरिरहँदा इन्जुरी समयकै ९०+८ औं मिनेटमा इङ्गल्याण्डका जुड बेलिङ्घमले फ्रान्सेली डिफेन्डरहरूलाई छक्याउँदै उत्कृष्ट गोल गरेर इङ्गल्याण्डको ६–४ को ऐतिहासिक जित पक्का गरे।

माइकल ओलिसेले गोलका लागि पास (असिस्ट) मिलाउँदै यस विश्वकपमा आफ्नो असिस्ट सङ्ख्या ७ पुर्‍याएका छन्। यो सन् १९६६ यता विश्वकपको एउटै संस्करणमा कुनै पनि खेलाडीले गरेको सबैभन्दा धेरै असिस्ट हो। यसअघि १९७० मा ब्राजिलका पेलेले ६ असिस्ट गरेका थिए।

यस विश्वकपका ८ खेलमा एम्बाप्पेले कुल १० गोल गरे। विश्वकपको एउटै संस्करणमा योभन्दा बढी गोल गर्ने खेलाडीहरूमा हङ्गेरीका स्यान्डोर कोसिस (११ गोल, १९५४) र फ्रान्सका जुस्ट फन्टेन (१३ गोल, १९५८) मात्र रहेका छन्।


सम्बन्धित समाचार
भर्खरै