Logo

३ साउन, रौतहट । जिल्ला भन्सार कार्यालय गौरले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्दै निर्धारित लक्ष्यको तुलनामा ४१.१४ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । गत आर्थिक वर्षका लागि भन्सार विभागले ३३ करोड २९ लाख रुपैयाँ वार्षिक लक्ष्य निर्धारण गरेकोमा कार्यालयले कुल ४६ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख विकासकुमार रजकका अनुसार प्रभावकारी राजस्व व्यवस्थापन, चुहावट नियन्त्रण, आयात कारोबारमा भएको वृद्धि तथा कार्यालयको सक्रिय अनुगमनका कारण लक्ष्यभन्दा करिब १३ करोड ७० लाख रुपैयाँ बढी राजस्व उठ्नु यो वर्षको ठुलो उपलब्धि हो ।

कार्यालयले सार्वजनिक गरेको महिनागत राजस्व सङ्कलनको विवरण अनुसार आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा सबैभन्दा बढी ५ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसै गरी पुसमा ५ करोड ६२ लाख, वैशाखमा ५ करोड २३ लाख, जेठमा ५ करोड २१ लाख तथा चैतमा ४ करोड ७३ लाख रुपैयाँ राजस्व उठेको थियो।

वर्षको सुरुवाती महिनाहरू साउनमा २ करोड ७७ लाख, भदौमा २ करोड ४७ लाख, असोजमा २ करोड २८ लाख, कात्तिकमा २ करोड २६ लाख र मङ्सिरमा ४ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। त्यस्तै, माघमा ३ करोड ३६ लाख र फागुनमा २ करोड ७९ लाख रुपैयाँ सङ्कलन भएसँगै समग्र वर्षको वित्तीय सूचक निकै उत्साहजनक देखिएको भन्सार प्रमुख रजकले जानकारी दिए ।

राजस्व असुलीमा फड्को मारेको गौर भन्सारले सीमावर्ती क्षेत्रमा हुने चोरी निकासी तथा पैठारी नियन्त्रणमा पनि सुरक्षा निकायहरूसँग मिलेर प्रभावकारी उपलब्धि हासिल गरेको छ। वर्षभरि भन्सारको आफ्नै गस्ती टोलीले ११ लाख २६ हजार ६९४ रुपैयाँ बराबरका २२ वटा तस्करीका मुद्दा दर्ता गरेको छ ।

यसै गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा नाकामा कडा निगरानी राख्दै ठुलो परिमाणमा भन्सार छलीका सामान नियन्त्रणमा लिएका छन् । जसअन्तर्गत सशस्त्र प्रहरी बलले ४ करोड ५ लाख १९ हजार ११० रुपैयाँ बराबरका ४८१ वटा र नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार १०६ रुपैयाँ बराबरका १५१ वटा चोरी निकासी तथा पैठारी सम्बन्धी मुद्दा दर्ता गराएका छन् ।

चोरी पैठारीका क्रममा जफत गरिएका मालवस्तु तथा सवारी साधनहरूको लिलाम व्यवस्थापनतर्फ पनि भन्सारले सक्रियता देखाएको छ। कार्यालयले आर्थिक वर्षभरि १ करोड ६९ हजार ६७४ रुपैयाँ बराबरका जफत गरिएका मालवस्तु र १ करोड ३३ लाख १४ हजार ९७५ रुपैयाँ बराबरका सवारी साधनहरू लिलाम बिक्री गरी राज्यकोषमा थप राजस्व योगदान पुर्‍याएको जनाएको छ । भन्सार प्रशासनले आगामी दिनमा पनि सीमा क्षेत्रमा निगरानी अझ कडा पार्ने र सेवा प्रवाहमा थप सुधार ल्याउने प्रतिबद्धता जनाएको छ ।


सम्बन्धित समाचार