७ साउन, बारा । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अरबिन्द साहको सामाजिक सञ्जालमार्फत विरोध गरेको आरोपमा एक युवक प्रहरी नियन्त्रणमा परेका छन् ।
चुनावी घोषणापत्रअनुसार काम नगरेको भन्दै फेसबुकमा आक्रामक स्टाटस लेखी कालो मसी दल्ने धम्की दिएका बारा निवासी निजामुद्दिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सांसद साहले दिएको लिखित उजुरीका आधारमा अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए। अन्सारीलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको र कानुनी प्रक्रियाका लागि आजै अदालत पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
“उहाँ (सांसद साह) को उजुरी परेपछि सोही आधारमा नियन्त्रणमा लिइएको हो । विद्युतीय कारोबार ऐनले घृणा, द्वेष र अफवाह फैलाउने गतिविधिलाई निषेध गरेको छ। कसुरको प्रकृति हेरेर अदालती प्रक्रिया अघि बढ्छ,” एसपी कुँवरले भने ।
सांसद साह आफ्नो निर्वाचन क्षेत्र अनुगमनका क्रममा पुगेका बेला अन्सारीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै श्रृङ्खलाबद्ध पोस्ट गरेका थिए ।
उनले फेसबुकमा लेखेका थिए, “मेरो ओपन च्यालेन्ज छ, कालो मसी दल्ने कार्यक्रम बारा निर्वाचन क्षेत्र नम्बर ३ का माननीय अरबिन्द साहलाई जुन ठाउँमा भेटिन्छ, त्यहीँ दल्ने हो। आफ्नो मेनिफेस्टोअनुसार १ प्रतिशत पनि काम नगरेको जनताले खुलासा गरिरहेका छन्।”
यस्तै, अर्को पोस्टमा उनले सांसद साहलाई भरतचोकमा भेट्न चुनौती दिँदै चुनावी बाचाअनुसार काम नगरेको भए कालो मसी दलेर काठमाडौँ फर्काउने चेतावनी दिएका थिए ।
अन्सारीका निकटस्थहरूले भने उनले भौतिक रूपमा कुनै हातपात वा विरोध नगरेको र केवल सामाजिक सञ्जालमा जनताको असन्तुष्टि पोखेको दाबी गरेका छन् ।
“उसले असन्तुष्टि पोख्दै फेसबुकमा पोस्ट गरेको मात्र हो । नेपाली उसको पहिलो भाषा नभएकाले लेखाइमा केही शब्द कडा वा त्रुटिपूर्ण भएको हुन सक्छ,” अन्सारीका एक निकटस्थले प्रश्न गरे, “यति लेखेकै आधारमा हिरासतमा लिन आवश्यक थियो र? अब जनप्रतिनिधिलाई प्रश्न गर्न र बोल्न पनि नपाइने भयो?”




















