७ साउन, काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा गणतन्त्र स्थापना भएपछि हासिल भएका ऐतिहासिक उपलब्धिहरूलाई ओझेलमा पार्न योजनाबद्ध रूपमा नकारात्मक प्रचार भइरहेको बताएका छन् ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले गणतन्त्रपछिको राजनीतिक, सामाजिक तथा भौतिक विकासलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको उल्लेख गरे ।
देशमा गणतन्त्र आएपछि भएका सकारात्मक परिवर्तनहरूमाथि अतिरञ्जित ढङ्गले प्रहार भइरहेको उनको भनाइ थियो । भौतिक पूर्वाधारको क्षेत्रमा देशले अभूतपूर्व विकास हासिल गरेको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत उल्लेख्य प्रगति भए पनि ती सबै उपलब्धिहरूलाई अपमानित गर्ने काम भइरहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले यसपटकको पुष्पलाल स्मृति दिवसलाई केवल औपचारिकतामा सीमित नराखी गणतन्त्रका उपलब्धि र परिवर्तनकारी एजेन्डामाथि भइरहेको ‘प्रतिगामी हमला’ विरुद्ध जुध्न नयाँ अभियानको सुरुवात गर्ने सङ्कल्पको दिनका रूपमा लिनुपर्नेमा जोड दिए । देशमा चलिरहेको प्रतिक्रान्तिको हावाले पुष्पलालको विचारअनुसार भएका परिवर्तनहरूलाई कमजोर पार्न खोजेको भन्दै उनले त्यसको प्रतिरोध गर्नुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा उनले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि समान रूपमा अगाडि बढाउनुपर्ने बताए । सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध डटेर संघर्ष गर्न सक्ने दह्रो वैचारिक आधार तयार पार्न नेपालको इतिहास, वर्गीय संरचना र यहाँको सामाजिक विकासक्रमबारे गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन् ।




















