७ साउन,वीरगञ्ज । राजस्व छली मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा परिचालित फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–१६ निवासी ३९ वर्षीय अशोक जैसवाललाई इनर्वा गाउँ सडकखण्डबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उच्च अदालत जनकपुर, स्थायी इजलास वीरगञ्जले राजस्व छली मुद्दामा जैसवाललाई तीन महिना कैद र २८ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। अदालतको फैसला कार्यान्वयनका क्रममा उनी फरार रहँदै आएका थिए।
विशेष सूचनाका आधारमा पक्राउ परेका जैसवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।




















