९ साउन,वीरगञ्ज ।बारामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट आर्थिक वर्ष २०८२/८३ मा १ करोड ३५ लाख ६७ हजार ५ सय १२ रुपैयाँ राजस्व संकलन भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार एक वर्षको अवधिमा १५ हजार ६ सय ९३ वटा सवारीसाधन कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीको वार्षिक तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष नियम उल्लङ्घन गर्ने सवारीसाधनको संख्या र संकलित राजस्व दुवै घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा २३ हजार ४ सय २४ सवारीसाधन कारबाहीमा पर्दा २ करोड २ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
यद्यपि, सवारी दुर्घटनाको अवस्था भने अझै चुनौतीपूर्ण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ। गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडकमा १ हजार २ सय ११ वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा ७९ जनाको मृत्यु भएको छ भने अघिल्लो वर्ष १ हजार १ सय ४७ दुर्घटनामा ९३ जनाले ज्यान गुमाएका थिए। तथ्यांकले दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या भने घटेको देखाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले सडकको कमजोर अवस्था, तीव्र गति, चालकको लापरवाही तथा ट्राफिक नियमको बेवास्ता दुर्घटनाका मुख्य कारण रहेको बताए।
उनका अनुसार नियमित सवारी जाँच, नियम उल्लङ्घन गर्ने चालकमाथि कडाइ र सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमका कारण दुर्घटनाबाट हुने मानवीय क्षति घटाउन सहयोग पुगेको छ।
प्रहरी निरीक्षक भट्टराईले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै आफू पनि छड्के अनुगमन र ट्राफिक जाँचमा सक्रिय रूपमा सहभागी हुँदै आएको बताए।
उनले चालकहरूलाई सुरक्षित गति कायम राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गर्दै सडक सुरक्षा अभिवृद्धिका लागि ट्राफिक अनुशासन र जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताए।




















