Logo

९ साउन,काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा सरकारले चालेका कदमबारे सार्वजनिक गरेको भिडिओ इन्स्टाग्राममा कीर्तिमानी बनेको छ।

मोदीले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको उक्त भिडिओ २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शनिबार दिउँसोसम्म उक्त भिडिओ ३४ करोडभन्दा बढी पटक हेरिएको बताइएको छ।

इन्स्टाग्राममा २४ घण्टामा सबैभन्दा धेरै हेरिएको रीलको कीर्तिमान मोदीको उक्त भिडिओले बनाएको दाबी गरिएको छ। यसअघि यो कीर्तिमान युट्युबर आईशोस्पिडको नाममा थियो। फिफा विश्वकपका क्रममा दक्षिण कोरियाली के–पप समूह बीटीएससँगको भेटसम्बन्धी उनको रीलले करिब ३० करोड भ्यु पाएको थियो।

भिडिओ भाइरल भएपछि मोदीको इन्स्टाग्राम खातामा एकै रात करिब १० लाख नयाँ फलोअर थपिएको पनि जनाइएको छ। भिडिओले ठूलो प्रतिक्रिया पाएपछि मोदीले शनिबार अर्को भिडिओ सार्वजनिक गर्दै समर्थक तथा दर्शकलाई धन्यवाद दिएका छन्।

नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा भारतमा विद्यार्थीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा सुरु भएको प्रदर्शन अन्य राज्यमा समेत विस्तार भएको छ।

आन्दोलन चर्किएपछि प्रधानमन्त्री मोदीले भिडिओमार्फत सरकारले हालसम्म गरेका काम र आगामी योजनाबारे जानकारी दिएका हुन्।

भिडिओमा मोदीले नीट प्रश्नपत्र चुहावटको विषय लाखौँ विद्यार्थी र अभिभावकका लागि पीडादायी भएको बताएका छन्। उनले घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको दाबी गरे।

उनले विद्यार्थीको एक वर्ष खेर जान नदिन सरकारले छोटो समयमा २२ लाख विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको र नतिजासमेत सार्वजनिक भइसकेको बताए।

मोदीले दोषीलाई कडा सजाय दिने व्यवस्था गर्न फास्ट ट्र्याक अदालत गठनसम्बन्धी प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार सम्बन्धित विभागले तयार पारेको मस्यौदा मन्त्रिपरिषद्मा छलफल गरिनेछ र त्यसपछि संसद्बाट विधेयक पारित गराउने प्रयास गरिनेछ।

 

नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारत सरकारमाथि विपक्षी दल र विद्यार्थी संगठनहरूले दबाब बढाउँदै आएका छन्।


सम्बन्धित समाचार