१० साउन, काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी आसमान गोपाली रहेको खुलेको छ । घटनास्थलमा अत्यधिक मात्रामा रगत देखिएको छ भने घटना लगत्तै मृतकसँगै रहेकी एक महिला फरार भएकाले प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको छ ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश विष्ट आफैँ घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरी प्रमाण सङ्कलन गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ अघि बढाएको छ । स्थानीय वडा अध्यक्ष समेत घटनास्थल पुगेर मृतकका आफन्तसँग समन्वय गरिरहेकी छन् ।
मृत्युको वास्तविक कारण र फरार महिलाको संलग्नताबारे अनुसन्धानपछि मात्र थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।




















