Logo

३ जेठ,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकाका लागि विशेष प्याकेज सहितको व्यवस्था गर्न प्रदेश सरकारसंग माग गर्नुभएको छ । आज महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट सम्बन्धि छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगन्ज महानगरकालागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु पुर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगन्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागि मेयर सिंहले निम्तो समेत दिनुभयो ।

संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबै भन्दा कम बजेट वीरगन्ज महानगरले पाईरहेको बताउनुहुदैँ मेयर सिंहले भने वीरगन्ज मधेसकै एकमात्र महानगर भएकाले, प्रदेश सरकारले अपनत्व लिएर वीरगन्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

यदि वीरगन्जलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध शहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगन्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोडदिनुपर्ने पनि उहाँको भनाई थियो ।

 


सम्बन्धित समाचार