Logo

१३ कात्तिक, वीरगञ्ज । मधेस प्रदेश सरकारले सोमबार छठ पर्वको अन्तिम दिन मधेस प्रदेशमा सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएका छन ।

तराई मधेशको मुख्य चाडको रुपमा रहेको छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने गरिन्छ । सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो बर्षको छठ पर्व सम्पन्न हुन्छ ।

संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुने भएकोले सोमबार पनि विदा दिनुपरेको मधेस प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ । सामाजिक एकताको झझलको दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउने विश्वास मुख्यमन्त्री राउतले गरेका छन् ।


सम्बन्धित समाचार