Logo

१९ मंसिर, काठमाडौं । भेपमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणमा छानबिनका लागि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाइएको छ ।

सरकारले गठन गरेको उच्चस्तरीय समितिले सुन तस्करी प्रकरणमा छानबिनका लागि पूर्वसभामुख महराका छोरा राहुललाई बयानका लागि बोलाइएको स्रोतले जनाएको छ ।

विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको छ ।
कारागार स्रोतका अनुसार, उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइँदैछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १३ भदौमा उनलाई पक्राउ गरेको थियो ।

भेप प्रकरणमा ब्यूरोले २७ असार २०८० मा जिल्ला अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता गराएको थियो ।

सरकारले १४ असोजमा सुन प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो ।


सम्बन्धित समाचार