१६ वैशाख, वीरगञ्ज । इलाम र बझाङमा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणनाा आजबाट शुरु हुने छ । मत परिणामा एक दुई दिन भित्रै आउने निर्वाचन आयोगले जनाएको छ । इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपचुनावको मतदानमा झन्डै ५७ प्रतिशत मतदान भएको छ ।
हिजो बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा झन्डै ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । इलाम–२ मा मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ रहेको छ ।
इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव भएको हो ।
यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हिजो भएको उपनिर्वाचनमा करिब आधा मतदाताले मतदान गरेका छन् ।
हिजो अपरान्ह ५ बजे सकिएको मतदानमा ३० हजार ३०० भन्दा बढी अर्थात ४९.१२ प्रतिशतले मतदान गरेको प्रारम्भिक विवरण निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।
विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आज हेलिकप्टरबाट ल्याइने छ ।