१७ बैशाख, पर्सा । प्रतिनिसिधसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले विदेशी शक्तिको इशारामा हिन्दुवादीहरुले मधेसमा धार्मिक हिंसा भड्काउन खोजेको टिप्पणी गरेका छन् । आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले संविधान समाप्त गरिए नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई जेल हाल्न सक्ने योजना अनुसार विदेशी चलखेल भईरहेको बताए ।
उहाँले प्रचण्डमाथि द्वन्द्वकालका ३ सय भन्दा बढी मुद्दा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा पनि गरेका छन् । नेपालको संविधान २०७२ का मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले जनाए । धर्मनिरपेक्षतामाथि विदेशीहरुको इशारामा गणतन्त्रमाथि हिन्दूवादी, पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि यहिका दल र सरकारबाट प्रहार भइरहेको उनको भनाई थियो ।
केहि समययता वीरगन्जसहित मधेसका विभिन्न शहरमा निरन्तर धर्मका नाममा अराजक जुलुश र ¥यालीहरु निकालिएको भन्दै यसले विदेशी शक्तिहरु लागेर मधेसमा धर्मको नाममा द्वन्द्व सृजना गर्न खोजिरहेको सांसद सिंहको जिकिर छ । संविधान अहिले संकटमा परेको भन्दै उहाँले आँफु संविधानको पक्षधर भएकाले हिन्दू राष्ट्रको पक्षमा नरहेको पनि प्रष्ट पारे ।
नेपालको राजनीतिमा अहिले परिवारवाद, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उहाँले राजनीति सेवा भावका रुपमा नभई व्यापारका रुपमा फस्टाएको बताए । देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेको बताउदै सांसद सिंहले मुलुकको अर्थतन्त्र धराशायी भएको उल्लेख गरे ।
साधारण खर्चपनि विदेशीसँग ऋण मागेर चलाईरहेकोले पनि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा छ भन्ने पुष्टि हुने सिंहको भनाई छ ।