Logo

नेपाली काग्रेसका पूर्व महासमिति सदस्य एंव नेपाली जनसम्पर्क समिति अमेरीकाको पूर्व सह संयोजक बेद प्रसाद खरेल आफ्नो मन्तब्य राख्दै

११ मंसिर, स्पेन । स्पेनको म्याड्रिडमामा सम्पन्न बिश्व भरिका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको महाधिवेशनबाट स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा अमेरिका निवासी नेपाली मूलका कानून व्यवसायी खगेन्द्र जिसी चयन भएका छन् ।

जिसीले नेपाली काँग्रेसको तर्फ बाट नेपाली जनसम्पर्क समिती अमेरिकाको पूर्व अध्यक्षको रूपमा प्रतिनिधित्व गर्दै उपाध्यक्षमा सर्वसम्मत निर्वाचित् भएका हुन । स्पेनको म्याड्रिडमामा नोवेम्बर २५–२७ शुरू भएको तीन दिने बिश्व भरिका समाजवादीहरुको भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।

यसअघि नेपाली कांग्रेसका सभापतिद्वय, स्वर्गीय विपि कोइराला र शेर बहादुर देउवाले बिश्व भरीका समाजवादीहरूको साझा सस्था सोसलिस्ट इन्टरनेशनलको नेपाली कांग्रेस नेपालको तर्फबाट प्रतिनिधित्वगरी उपाध्यक्ष भएका थिए ।

नेपाल र नेपाली कांग्रेसको तर्फबाट जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसीले यसपटक जनसम्पर्क समितिको पूर्व अध्यक्षको हैसियतले र नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य वेद प्रसाद खरेलले काग्रेसका पूर्व महासमिति सदस्य एंव नेपाली जनसम्पर्क समिति अमेरीकाको पूर्व सह संयोजकका हैसियतले भाग लिएका हुन ।

नेपाली काँग्रेस सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । महाधिवेशनको क्रममा जिसी र खरेल सँग भएको भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी बेदप्रसाद खरेलले जानकारी दिए ।

भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्न सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदबारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदबारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरु रहेका थिए । हाल बिधान संशोधन गरेर ३६ जना बनाइएको छ ।

प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षका संख्यामा बाँडफाँड गर्न सबैभन्दा ठूलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सीटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ ।

५० वर्षीय पेड्रो सान्चेजले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका छन् । महाअधिवेशनमा विश्व भरिका ११७ देशका ३५० जनाको सहभागिता छ ।

सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला र अस्वेत महासचिव बनेकी छिन् ।

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बनेका थिए ।

महाधिवेशनमा खगेन्द्र जिसी र वेद प्रसाद खरेलले नेपाली काग्रेस, लैंगिक समानता, आर्थिक अभिवृद्धिमा समाजवादीको भूमिकाका बारेमा विचार राखेका थिए ।


सम्बन्धित समाचार