Logo

३० वैशाख,काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्ला आर्थिक वर्ष २०७९÷०८० को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स उक्त प्रतिशतमा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनाको विवरणमा सो अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.९ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार ४२२ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन लाख ८७ हजार ८३९ थियो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई लाख १७ हजार ९५९ रहेको थियो ।

समग्रमा पछिल्लो ९ महिनामा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ४२ हजार १४३ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलना यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।

गत आर्थिक वर्ष २०७९÷०८० को पहिलो नौ महिनामा ६ लाख पाँच हजार ७९८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ६३ हजार ६५५ ले घटेको छ ।


सम्बन्धित समाचार