Logo

३० वैशाख, वीरगञ्ज । मधेस प्रदेशमा ४ दल मिलेर सरकार बनाउने भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ समीकरण अनुसार ४ दल सरकार गठन गर्ने सहमत भएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार निर्माणका लागि दलहरूले छलफल थालेका हुन् ।

माओवादी केन्द्रका प्रदेश सांसद युवराज भट्टराईले मधेसमा कुन–कुन दल मिलेर सरकार बनाउने भन्नेबारे आन्तरिक सहमति भइसकेको बताए । माओवादी, एमाले, जनमत र लोसपा गरी ४ दल मिलेर मधेसमा सरकार गठन हुने उनले बताए । उनले मुख्यमन्त्री को हुने भन्नेमा सहमति भने भइनसकेको बताए । उनले भने ,‘सरकारमा सहभागी हुने दलहरू क्लियर छन् । तर मुख्यमन्त्रीमा अझ सहमति हुन बाँकी छ । त्यो पनि चाँडै टुंगो लगाएर आफ्नो बहुमतसहितको दाबी पेस गर्छौ ।’

सांसद भट्टराई ले मुख्यमन्त्रीमा सहमति जुटाएर कानुन बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।

प्रदेश सभामा माओवादी केन्द्रका ९, एमालेका २४, जनमतका १३ र लोसपाका ८ जना सांसद छन् । जुन सरकार गठनका लागि बहुमत पुग्छ ।


सम्बन्धित समाचार