Logo

१७ जेठ, वीरगञ्ज। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले यहि ज्येष्ठ २३ गते विश्वासको मत लिने भएका छन् । ज्येष्ठ २३ गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले पाचौँ पटक विश्वासको मतको प्रस्ताव राख्ने तयारी भईरहेको हो ।

नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्रीलाई विश्वासको मत लिनैपर्ने भएको छ । यधपी एमाले र माओवादी सरकारबाट बाहिरिएसँगै जनता समाजवादी पार्टी नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परिसकेको छ ।

अहिले मधेश प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादी पार्टीले मात्र समर्थन गरेको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेटेर प्रदेशमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन पहल भएको छ ।

कांग्रेसका प्रदेश सभा सदस्य श्याम पटेलका अनुसार जसपा नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा लगभग सहमति भइसकेको छ । सोही सहमति बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको उनले बताए ।

मुख्यमन्त्री यादवलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने आन्तरिक सहमति भएको स्रोतले जनायो ।

नयाँ प्रदेश सरकारमा कांग्रेसलाई ४, लोसपालाई २, एकीकृत समाजवादीलाई २ र जसपा नेपालले मुख्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी आन्तरिक सहमति जुटेको छ ।

सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामा जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस आधारमा मुख्यमन्त्रीसँग ५६ जना सांसदको समर्थन रहन्छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक पर्छ ।


सम्बन्धित समाचार