Logo

११ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्री सहित ८ जनाले शपथ लिने भएका छन् ।

नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ । भने, रास्वपाका लामिछानेले गृह वा भौतिक पूर्वाधार मध्ये एक मन्त्रालय पाउँने संभावना छ । जनमत पार्टीबाट बरिष्ठ उपाध्यक्ष अब्दुल खाँलाई मन्त्री बनाउने निर्णय गरेको छ । उनलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले दिने सहमती भएको बताइएको छ ।

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई गृह वा परराष्ट्र मध्ये कुनै एक मन्त्रालय दिने संभावना छ । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र सरकारमा जाने बिषयमा विवाद भएको तत्काल सरकारलाई समर्थन मात्र गर्ने तर सरकारमा नजाने निर्णय गरेको छ ।

एमालेले थप ३ मन्त्रीलाई समेत आजै सपथ ग्रहण गराउने तयारी गरेको छ । जसमा प्रदेश १ बाट राजेन्द्र राई, मधेशबाट ज्वालाकुमारी साह र सुदूरपश्चिमबाट दामोदर भण्डारी रहेका छन् ।

राईले ७४ र यो चुनावमा धनकुटामा क्लीनस्वीप गराएका छन् । साह बारा ३ मा गठबन्धनसँग एक्लै लडेर चुनाव जितेकी हुन् । त्यस्तै सुदूरपश्चिममा दुई सीट जितेको एमालेले बैतडीबाट निर्वाचित भण्डारीलाई पनि सरकारमा पठाउने भएको हो ।

यता नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सो पार्टीले आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कारागार मुक्त नगरे सम्म सरकारमा नजाने निर्णय गरेको हो ।
सरकारलाई समर्थन गरेको अर्को दल जनता समाजबादी पार्टीले समेत सरकारमा जाने बिषयमा कुनै निर्णय गरेको छैन ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ । उनीसँग विभिन्न पार्टीबाट उपप्रधानमन्त्री सहित ६ जना मन्त्रीले सपथ खानेगरी गठबन्धन दलबिच छलफल भइरहेको छ ।


सम्बन्धित समाचार