Logo

३० असोज,सेढवा । पर्साको ग्रामीण भेगका किसानहरुले हिउँदे बालीको बीऊ बीजन तथा रासायनिक मलका लागि भारतीय बजारमा निर्भर रहनु परेको गुनासो गरेका छन्।

अहिले यस क्षेत्रका किसानहरुलाई हिउँदे बाली लगाउन चटारो छ। तर बीऊ बीजन तथा रासायनिक मल खरिदका लागि भारतीय बजार धाउनु पर्ने बाध्यता छ । किसानहरुले अहिले तोरी, आलु, काउली, बन्दा, भन्टा, रायो, चमसुर, मूला, गोलभेडा, लसुन लगायतका तरकारी बालीको रोपाई शुरु गरेका छन्।

तर, नेपाली बजारमा बीऊ तथा रासायनिक मल भने उपलब्ध छैन। जिराभवानी गाँउपालिका वडा नं.–४ सुपौलीका ओमप्रकाश महतोका अनुसार ग्रामीण भेगका स्थानीय बजारमा आलुको बीउ नपाएकाले भारतीय बजार इनरवा बजारमा बीऊ खरिद गर्न गएको बताए।

गाँउकै बजारमा व्यापारीहरुबाट बीउ ल्याउन लगाउदा निकै महंगो पर्ने भारतीय बजारमा बीऊ खरिद गर्न गएका महतोले बताए। तर सीमामा खटिएका भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरुले २० किलो बीऊ मात्र नेपालतर्फ ल्याउन दिएकाले समस्या थपिएको महतोले बताए।आफूलाई चाहिने ७० केजी आलुको बीउ खरिद गरेको तीन पटक गरी सीमा पार गराउनु पर्दा समस्या भएको बताए।

अहिले सीमा क्षेत्रमा रहेका भेलाही, सिकटा, मैनाटाड, इनरवा र भंगहा लगायतका भारतीय बजारहरुमा नेपाली किसानहरुको भीड लाग्ने गरेको छ । यी बजारहरुमा पर्सा जिल्लाको पूर्वदेखि पश्चिमी क्षेत्रका किसानहरु रासायनिक मल र बीऊ खरिद गर्न जाने गरेका छन्।

ठोरी गाँउपालिका वडा नं.–५ सुवर्णपुरका किसान कल्याण बस्नेतका अनुसार २–३ दिनमा तोरी छर्ने किसानहरुले तैयारी गरेका बताए। तर, स्थानीय कृषि सहकारी संस्थामा डिएपी र यूरिया रासायनिक मल नभएकाले किसान चिन्तामा रहेको बस्नेतले बताए। यो अवस्थामा भारतीय बजारबाट भएपनि रासायनिक मलको आपूर्ति गर्ने किसान बस्नेतले बताए।

तर, भारतीय बजारबाट मल ल्याउदा एक त महंगो हुने, त्यसमा पनि बट्टा (सटही शुल्क) तिर्नु परेका बस्नेतले गुनासो गरे। साथै मलको गुणस्तरमा पनि शंकै लाग्ने गरेका बस्नेतले बताए। भारतीय बजारबाट मल ल्याउने क्रममा सीमामा खटेका दुई देशका सुरक्षाकर्मीहरुसँग गाली पनि सुन्नु परेको किसानहरुले गुनासो गरेका छन्।

उनीहरुका अनुसार भारतीय एसएसबीका सुर्क्षाकर्मीहरुले कहिले एक बोरा मल ल्याउन दिन्छन् । भने कहिले १० केजी त कहिले आधा बोरा मल ल्याउन दिन्छन् । यता रासायनिक मल बितरण गर्ने कृषि सहकारी संस्थाका संचालकहरुले भने अहिले मल नआउने बताएका छन्।

जिराभवानी गाँउपालिका वडा नं.–२ मा रहेको मारुतीनन्दन कृषि सहकारी संस्थाका संचालक सत्यनारायण साहका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिंग कम्पनीले रासायनिक मल नदिएको बताए। छठ पर्वपछि मंसिर महिनामा गहुँबालीका लागि मल आउने संचालक साहले बताए।


सम्बन्धित समाचार