१५ असोज, काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमार बर्देवाले अन्नपूर्ण न्यूरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अन्य घाइतेहरूलाई परिचयपत्र दिएका हुन्। दिपेन्द्रको परिचयपत्र उनकी पत्नी संगीता बस्नेतले बुझेकी थिइन्। घाइते भएको २२ दिनपछि उनीहरूले यो परिचयपत्र पाएका छन्।
आन्दोलनको पहिलो दिन, भदौ २३ गते, प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २८ वर्षीय दिपेन्द्र बस्नेतको टाउकोमा चोट लागेको थियो। दैलेखको भगवतीमाई गाउँपालिका–१ स्थायी घर भएका बस्नेत रोजगारीका सिलसिलामा काठमाडौंमा थिए। उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको हाल उपचार जारी छ। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।

















