Logo

१५ असोज, काठमाडौँ । भदौ २३ र २४ गते देशभर जेन–जी पुस्ताद्वारा गरिएको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा झडप, तोडफोड र आगजनीका घटनाहरूले उग्र रूप लिँदा हालसम्म २,३१६ जना घाइते भएको सरकारी तथ्यांकले देखाएको छ। तीमध्ये ७६ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनमा घाइते भएका मध्ये २,२९९ जना उपचारपछि घर फर्किसकेका छन् भने ३८ जना अझै पनि देशभरका १० वटा अस्पतालहरूमा उपचाररत छन्।

“प्रारम्भमा ८३ वटा अस्पतालमा घाइतेहरूको उपचार गरिएको थियो,” डा. बुढाथोकीले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा बताए। “केहीलाई भर्ना गरेर शल्यक्रिया गर्नुपर्‍यो भने केहीको सामान्य उपचार गरेर डिस्चार्ज गरिएको छ।”

आन्दोलनका क्रममा अस्पताल पुग्दा पुग्दै वा उपचारकै क्रममा ४९ जनाको ज्यान गएको जानकारी उनले दिए। त्यस्तै, ९४७ जना घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको पनि उनले उल्लेख गरे।

सरकारले हालसम्म आन्दोलनका प्रभाव, मानविय क्षति र स्वास्थ्य सेवा उपयोगसम्बन्धी विवरणहरू संकलन गरिरहेको जनाएको छ। यता आन्दोलनकारीहरू भने अझै पनि जिम्मेवार निकायहरूलाई स्पष्ट जवाफदेही माग गर्दै सडकमा उत्रिन सक्ने संकेत दिएका छन्।


सम्बन्धित समाचार