१६ असोज,वीरगञ्ज । हालै देशभरि चर्चामा रहेको जेनजी आन्दोलनले मधेश प्रदेशमा व्यापक भौतिक क्षति पुर्याएको तथ्यांक सार्वजनिक भएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार, आन्दोलनका क्रममा ९० वटा प्रहरी कार्यालय र २०७ वटा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको छ।
प्रहरीको विवरण अनुसार, आन्दोलनका कारण कूल ७ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यसले राज्यका पूर्वाधार, सेवा प्रवाह, र सुरक्षातन्त्रमा गम्भीर असर पारेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार, २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरका सवारीसाधनहरू जलाइएका छन्। यसले न केवल प्रहरी परिचालनमा अवरोध ल्याएको थियो, तर सरकारी सेवाहरू पनि केही समय प्रभावित भएका थिए।
यद्यपि, आन्दोलनपछिको अवस्थालाई सामान्य बनाउने प्रयास अन्तर्गत सबै क्षतिग्रस्त कार्यालयहरूको मर्मत सम्भार गरी पुनः सञ्चालनमा ल्याइएको छ। विस्थापित प्रहरी कर्मचारीहरू पनि आ–आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्।
‘जेनजी समूह’ले नेतृत्व, प्रणाली र सामाजिक संरचनामाथि प्रश्न उठाउँदै सुरु गरेको आन्दोलनले भौतिक विनाशको बाटो लिएको भन्दै यसको वैधानिकता, रणनीति र नियन्त्रणको विषयमा बहस सुरु भएको छ।
सार्वजनिक सम्पत्तिमाथि भएको क्षतिलाई लिएर सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आलोचना हुँदै आएको छ। धेरैले यस्तो क्षति पुर्याउने आन्दोलनको दीर्घकालीन प्रभावबारे गम्भीर प्रश्न उठाएका छन्।

















