Logo

२० असोज, काठमाडौं ।  सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘#ArrestKPOli’ अभियान तीव्र बनेको छ। जेनजी आन्दोलनका अगुवाहरूले राज्यद्वारा आन्दोलनमा दमन भएको भन्दै ओलीलाई कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन्।

गत भदौ २३ गते, काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको दमनमा परी थुप्रै युवा घाइते भएको घटनालाई लिएर उक्त अभियान सुरु गरिएको हो। आन्दोलनकारीहरूका अनुसार उक्त दमनको राजनीतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले लिनुपर्छ।

जेनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ।” उनले मधेश विद्रोहका बेला ओलीद्वारा दिइएको विवादास्पद अभिव्यक्तिलाई पनि स्मरण गर्दै न्यायको माग गरेकी छन्।

जेनजीका अर्का अगुवा युजन राजभण्डारीले बमको भनाइ समर्थन गर्दै लेखेका छन्, “हरेक गोलीको हिसाब हुनेछ। एरेस्ट केपी ओली।” उनीसँगै थुप्रै अभियन्ता र सर्वसाधारणले पनि अभियानमा ऐक्यबद्धता जनाउँदै सामाजिक सञ्जालमा पोस्ट र सेयरमार्फत् आवाज उठाइरहेका छन्।

कतिपयले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गर्न माग गरेका छन्। उनीहरूका अनुसार आन्दोलनको पहिलो दिनमै बर्बरतापूर्वक बल प्रयोग गरी निर्दोष विद्यार्थीहरूको हत्या गरिएको थियो, जसको निष्पक्ष छानबिन र दोषीहरूलाई कारबाही गर्नुपर्ने माग बढ्दो छ।

जेनजी आन्दोलनको पहिलो चरणपछि केही समय शान्त देखिएको भए पनि पछिल्लो सामाजिक सञ्जाल अभियानले पुनः सरकार र राजनीतिक नेतृत्वमाथि दबाब सिर्जना गरेको छ।


सम्बन्धित समाचार