२५ असोज, वीरगञ्ज । जेनजी आन्दोलनमा गोली लागी घाइते भएका पर्साको ठोरी गाउँपालिका–२ इच्छानगरका युवा नेत्रबहादुर थापा सम्मानित भएका छन्।
स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित “चौथो ठोरी गोल्ड कप–२०८२” को अवसरमा आयोजित विशेष कार्यक्रममा थापालाई पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठक र ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले दोसल्ला र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले न्याय, समता र रूपान्तरणका लागि ज्यानको प्रवाह नगरी संघर्षमा होमिएका थापाको साहस प्रेरणादायक भएको बताए। त्यस्तै, मेयर पाठकले थापाको आत्मबल र संघर्षले पर्सा जिल्लाको मात्रै नभई सम्पूर्ण देशको गौरव बढाएको उल्लेख गरे।
थापालाई गरिएको यो सम्मानले देशभरका युवा पुस्तामा समानता, न्याय र सामाजिक रूपान्तरणप्रतिको भावना अझ बलियो हुने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

















