२९ असोज, काठमाडौं । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको आगजनीबाट गृह मन्त्रालयमा सुरक्षित राखिएका करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलेको छ।
गृह मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव रविन्द्र आचार्यका अनुसार, मन्त्रालयमा रहेको अंगिकृत नागरिकताको सम्पूर्ण अभिलेख जलेर नष्ट भएको हो। डिजिटाइजेसन गर्ने क्रममा इन्ट्री भएका विवरणहरू समेत आगलागीमा नष्ट भएको उनले बताए।
उनका अनुसार, अभिलेखहरू स्क्यान भइरहेको बेला स्क्यान गरिएका कागजातहरू रहेको कम्प्युटर र ल्यापटप समेत जलेका छन्। “डिजिटाइजेसन प्रक्रिया चलिरहेको थियो। करिब १७ हजार अभिलेखहरू इन्ट्री भइसकेका थिए। तर ती सबै फाइल र उपकरण जलेर नष्ट भएका छन्,” आचार्यले भने।
सरकारले गत वर्षदेखि अंगिकृत नागरिकताको विवरण डिजिटल अभिलेखका रूपमा सुरक्षित राख्ने योजना थालेको थियो। तर आगलागीका कारण त्यसभन्दा पहिलेका र डिजिटाइज गरिएको विवरण समेत नष्ट भएपछि अभिलेख पुनः संकलन गर्न चुनौती थपिएको छ।
नेपालमा नेपाली महिलाले विवाह गरेका विदेशी पुरुष र नेपाली पुरुषले विवाह गरेकी विदेशी महिलाले अंगिकृत नागरिकता पाउने व्यवस्था छ। यस्तै, नेपालमै स्थायी रूपमा १५ वर्ष बसोबास गरेका विदेशी नागरिकलाई पनि गृह मन्त्रालयकै निर्णयबाट अंगिकृत नागरिकता दिइन्छ।
वैवाहिक नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयमा रहन्छ भने अन्य प्रकारका अंगिकृत नागरिकताको अभिलेख गृह मन्त्रालयमै राखिँदै आएको थियो। आगलागीमा ती सबै अभिलेख जलेर नष्ट भएपछि नागरिकताको संवेदनशील डाटा व्यवस्थापनमा ठूूलो संकट आएको छ।

















